
दोलखा । किर्नेटार सडक खण्डको बैकल्पिक मार्ग सुचारु भएको छ । बाढीले सडक कटान गरी बगाएपछि सडक सम्पर्क विच्छेद भएको दोलखा र रामेछापलाई जोड्नकालागि किर्नेटारमा वैकल्पिक सडक मार्ग निर्माण गरी सडक सुचारु गरिएको हो ।
बुधबार किर्नेस्थित त्रिकुटेश्वर माविको पछाडि र हिमाल पावर लिमिटेडको कर्मचारी आवास क्षेत्र अगाडिको फुटवल मैदानसम्म नयाँ ट्रयाक खोलेर सडक सुचारु गरिएको हो । हिमाल पावर लिमिटेडको मुख्य गेटवाट खिम्ति ग्रामिण बिद्युत सहकारीको कार्यालय हुँदै बनाइएको नयाँ सडक ट्रयाकवाट अहिले यातायातका साधान सञ्चालन भएको छ ।
वैकल्पिक मार्ग बनाएर अवरुद्ध सडक सुचारु भएसँगै दोलखा र रामेछाप पुनः सडक सञ्जालमा जोडिएको छ । तामाकोशी–मन्थली सडकको किर्नेटार सडक खण्ड यहि असोज १२ गते तामाकोशी नदीमा आएको बाढीले बगाएको थियो । बाढीले सडक सँगसँगै आसपासमा रहेको अस्पताल र हिमाल पावर लिमिटेडका भौतिक संरचनाहरुमा समेत बगाएको थियो ।
दोलखाका प्रमुख जिल्ला अधिकारी टुवराज पोखरेलसहित सुरक्षा निकायका प्रमुखहरुले सोमवार र मंगलवार स्थलगत निरिक्षण गरेको थियो । मंगलवार किर्नेटार पुगेका उर्जा राज्यमन्त्री पूर्णवहादुर तामाङ ९कान्छाराम० ले हिमाल पावरको कर्मचारी आवास क्षेत्रको वीच भागवाटै वैकल्पिक मार्ग खोल्न निर्देशन दिएका थिए ।
दोलखा र रामेछापका जनप्रतिनिधि, दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा अधिकारी तथा हिमाल पावर लिमिटेडका प्रतिनिधि सहभागी वैठकमा यथाशिघ्र सडक सुचारु गराउने सहमति भएको थियो । सो छलफलपछि नयाँ रुटमा वैकल्पिक सडक मार्ग तयार गरी यातायात सुचारु गरिएको हो ।