
दोलखा । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि नेकपा एमालेले घरदैलो अभियान सुरु गरेको छ । एमालेले उपाध्यक्ष उम्मेदवार उमा शेर्पाकै स्थानीय वडा गौरीशंकर गाउपालिका ७, मार्वुबाट घरदैलो अभियानको सुरु गरेको हो ।
मंगलबार बसेको नेकपा एमाले जिल्ला कमिटीको चौथो पुर्ण बैठकले गौरीशंकर गाउँपालिका उपनिर्वाचन लक्षित घरदैलो अभियानका समयतालिका सार्वजनिक गर्दै उम्मेदवारसहित अभियानका टोलीलाई विदाई गरेको थियो । बुधबारदेखि मार्वुबाट औपचारिक रुपमा सुरु गरेको घरदैलो अभियान पालिकाको ९ वटै वडामा संचालन गरिने तयारी गरेको छ ।
जिल्ला कमिटीको बैठकले पालिकाको वडा नम्बर ७ मार्वुबाट सुरु गरेको अभियान कात्तिक २२ गते चंखु, २३ गते सुरी, २४ गते झ्याँकु, २५ र २६ गते जुँगु, २७ गते खारे, २८ गते सिमिगाउँ र २९ गते टासिनाम पुगेर पहिलो चरणको घरदैलो अभियान सम्पन्न गरिने समय तालिका सार्वजनिक गरेको छ ।
पहिलो चरणको अभियान सम्पन्न भएपछि दोश्रो चरणको अभियान मंसिर २ गते मनोनयन दर्तापछि पुनः हुने एमाले जिल्ला कमिटीका सचिव सोयम बहादुर खड्काले जानकारी दिए । पहिलो चरणमा पार्टीका वडा कमिटी र स्थानीय मतदातासँग उम्मेदवार परिचय तथा अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सचिव खड्काले बताए ।
उपनिर्वाचन घरदैलो अभियानमा पार्टी सचिव सोयमबहादुर खड्का, सचिवालय सदस्य एवं पालिका इन्चार्ज जंग गुरुङ, जिल्ला कमिटीका सदस्यहरु देबराम बुढाथोकी, विन्दु गुरुङ, फुरलाक्पा शेर्पा, पालिका पार्टी अध्यक्ष मिंगुर शेर्पा लगायत स्थानीय कार्यकर्ताहरुको सहभागित रहेको छ ।
त्यसैगरी, उपनिर्वाचनका लागि गौरीशंकरमा एमाले, नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस, एकीकृत समाजवादी, राप्रपा लगायतका दलहरुले उम्मेदवार घोषणा गरी घरदैलो कार्यक्रम संचालन गरिरहेका छन् ।
फोटो फिचर

