
यसअघि वैशाख २५ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंह अनिवार्य अवकाशमा गएका थिए ।
दुई सचिव पद रिक्त भए पनि बढुवाको सुरसार भएको छैन । सचिव बढुवाका लागि लोक सेवा आयोगका अध्यक्षको अध्यक्षतामा ५ सदस्यीय समिति हुन्छ ।
समितिमा लोकसेवा आयोगको अध्यक्षले तोकेको लोकसेवा आयोगको सदस्य, मुख्यसचिव, लोकसेवा आयोगद्वारा मनोनीत सम्बन्धित विषयका विशेषज्ञ सदस्य हुन्छन् भने सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्यसचिव हुन्छन् ।
अनिवार्य अवकाशमा गएका दुवै सचिव प्रशासन सेवाका भएकाले बढुवा समितिको बैठक संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा बस्ने व्यवस्था कानुनमा छ । तर, बैठक अहिलेसम्म नबसेको आयोग अध्यक्ष निकट स्रोतले जानकारी दियो । बढुवा समिति बैठकबारे जानकारी लिन खोज्दा सदस्यसचिव सामान्य प्रशासन मन्त्रालयका सचिव रविलाल पन्त सम्पर्कमा आएनन् ।
जेठमा थप चार सचिव जाँदैछन् अवकाशमा
जेठ महिनामा चार सहसचिव अवकाशमा जाँदैछन् । जल तथा ऊर्जा आयोगका सचिव मधुप्रसाद भेटवाल जेठ ६ गते तथा गण्डकी प्रदेश सरकारका प्रमुख सचिव रहेका रघुराम विष्ट जेठ २४ गते अनिवार्य अवकाशमा जाँदैछन् ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका सचिव उदयराज सापकोटा जेठ २८ गते अनिवार्य अवकाशमा जाँदैछन् । त्यस्तै संघीय संसद सचिवालयमा कार्यरत सचिव सुदर्शन खड्का जेठ ३० गते अवकाशमा जाँदैछन् ।