
काठमाडौं । देशको अधिकांस उच्च भुभागमा बर्षासँगै हिमपात सुरु भएको छ । अधिकांस उच्च हिमाली भुभागमा मंगलबार अपरान्हदेखि वर्षासँगै हिमपात सुरु भएको हो ।
माथिल्लो क्षेत्रमा हिमपात र तल्ला क्षेत्रमा बर्षा भएपछि चिसो अध्याधिक बढेको छ । हिमपात र वर्षासँगै अन्नबालीलाई चिस्यान पुग्ने हुँदा किसान र पर्यटकीय क्षेत्रमा पर्यटक आगमन बढ्ने हुँदा पर्यटन व्यवसायी खुसी भएका छन् ।
यसै त सुन्दर पर्यटकीय क्षेत्रहरु हिउँको घुम्टो हाल्दा अझ मनमोहक देखिने गरेको छ । हिउँ परेपछि सुख्खा डाँडापाखा, रुख बुट्यान, पातपतिङ्गर सेताम्मे हुन्छन् । हिमाली क्षेत्रमा घरका छानाहरु हिउँले ढाकेर सुन्दर देखिने गरेको छ ।
हिमपातपछि बढेको चिसोको कारण स्वास्थ्यमा समस्या हुने भएकोले सावधानी अपनाउन स्वास्थ्यकर्मीले सुझाव दिएको छ । चिसोको कारण बालबालिका, बृद्धबृद्धा, दीर्घरोगी प्रभावित हुन्छन् ।
यस्तै दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोक, खरिढुङ्गा, शैलुङ, च्छोरोल्पा, गौरीशंकर क्षेत्रमा बाक्लो हिमपात भएको छ । उच्च भुभागमा वर्षा र हिमपातसँगै देशभर चिसो बढेको छ ।