दोलखा । माथिल्लो तामाकोशी जलबिद्युत आयोजनाको बाँध क्षेत्रमा पहिरो जादाँ पाँच जना सम्पर्कविहिन भएका छन् । शनिबार दिउँसो बाँधस्थल माथिको भीरवाट पहिरो खस्दा नियन्त्रण कक्ष (कन्ट्रोल रुम) मा रहेका नेपाली सेनाका दुई सैनिक, दुई जना कामदार र एक जना सुरक्षा गार्ड बेपत्ता भएका हुन् ।
विहीबारदेखिको अविरल वर्षापछि शनिबार आएको पहिरोमा परेका उनीहरूको अवस्था अज्ञात रहेको आयोजनाले जनाएको छ । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको बाँध स्थलको नियन्त्रण भवनमा कार्यरत आयोजनाका दुई जना कर्मचारी, नेपाली सेनाको गरुणदल गणका दुई जवान तथा एक जना सुरक्षा गार्डको अवस्था अज्ञात रहेको रहेको छ ।
आयोजनाले गरुणदल गणलाई पत्र लेखेर अविलम्ब उनीहरूको खोजी गरिदिन अनुरोध गरेको छ । पहिरोका कारण आयोजनाको बाँध क्षेत्रका संरचना (हेडवर्क्स) मा क्षति पुगेको छ ।
बाँधस्थलभन्दा केही तल दायाँतर्फ रहेको नियन्त्रण कक्ष, बालुवा थिग्य्राउने पोखरी (डिस्यान्डर) र बाँधबाट डिस्यान्डरसम्म पानी पुर्याउने नहर (कल्भर्ट) मा क्षति पुगेको छ । नियन्त्रण कक्ष, डिस्यान्डर र कल्भर्ट रहेको स्थानभन्दा माथिबाट खसेको पहिरोका कारण संरचनामा ठूलो क्षति भएको आयोजनाले जनाएको छ ।
माथिल्लो तामाकोशीमा पानीको बहाव उच्च भएपछि शुक्रबार साँझ ७ बजेबाट विद्युत् उत्पादन बन्द गरिएको छ। बाँधका सवै ढोका खुल्ला गरिएका कारण तामाकोशी नदी तटीय क्षेत्रमा पानीको सतह बृद्धी भएको छ ।