
काठमाडौ । तमु ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेशको आयोजनामा घुम्ती अन्तरक्रिया सुरु भएको छ । तमु ह्यूल छोंज धीँ गुरुङ राष्ट्रिय परिषद् बागमती प्रदेश कार्यसमितिको आयोजनामा तमु ल्होसार सप्री ल्हो(सर्प वर्ग) २०८१ को अवरसर शुभकामना आदान–प्रदान सहित प्रदेशस्तरीय घुम्ती अन्तरक्रिया सुरु गरेको हो ।
शनिबारदेखि सुरु गरिएको पहिलो अन्तरक्रिया कार्यक्रम तमु ह्यूल छोज धीं गुरुङ राष्ट्रिय परिषद नुवाकोट जिल्ला समितिसँग प्रदेश अध्यक्ष झमकराज गुरुङको अध्यक्षता र प्रदेश प्रमुख गणेश बहादुर गुरुङको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । त्यसैगरी दोस्रो अन्तरक्रिया कार्यक्रम तमु ह्यूल छोज धीं गुरुङ राष्ट्रिय परिषद ललितपुर जिल्लामा सम्पन्न भएको थियो ।

प्रदेशस्तरीय अन्तरक्रियामा गुरुङ सँस्कार, सँस्कृति, भाषा भेषभुषा, चाडपर्व लगायतको विषयमा छलफल गरिएको थियो । अन्तरक्रिया कार्यक्रममा प्रदेश अध्यक्ष झमकराज गुरुङ र बरिष्ठ उपाध्यक्ष रविन गुरुङले प्रशिक्षण दिनुभएको थियो । भाषा विज्ञ एवं बरिष्ठ उपाध्यक्ष रविन गुरुङले गुरुङ जातिमा रहेको मौलिक भाषा भेषभुषा, रहनसहन, रितीरिवाज लगायतको मौलिकता संरक्षण गर्न सबै जागरुक भएर लाग्नु पर्ने बताउनुभयो ।
पहिलो दिनको कार्यक्रममा दुवै जिल्लामा उत्साहजनक जनसहभागिता भएको थियो । कार्यक्रम बागमती प्रदेशको १३ वटै जिल्लामा तमू ल्होसार विशेष शुभकामना आदनप्रदान गदै घुम्ती अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिने प्रदेश सचिव रमेश गुरुङले जानकारी दिनुभयो । प्रदेशस्तरीय घुम्ती कार्यक्रम तमु ल्होसार अर्थात पुष १५ अगावै सम्पन्न गरिने पनि सचिव गुरुङले बताउनु भयो ।


