
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उपनिर्वाचनमा विजयी भएका गौरीशंकरको उपाध्यक्ष उमा लुङ्गेली मगर शेर्पालाई शुभकामना तथा बधाई दिनुभएको छ । शनिवार बालुवाटार निवासमा भेट गरी प्रधानमन्त्री ओलीले उपाध्यक्ष उमालाई बधाई तथा शुभकामना दिनुभएको हो ।
दोलखाको गौरीशंकर गाउँपालिकामा गत मंसीर १६ गते भएको उपनिर्वाचनबाट नेकपा एमालेको उम्मेदवार उमा लुङ्गेली मगर शेर्पा उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । यस अवसरमा प्रधानमन्त्री ओलीले नवनिर्वाचित उपाध्यक्ष शेर्पालाई आफ्नै निवासमा भेटगरी बधाई तथा शुभकामना दिनुभएको हो ।

नेकपा एमालेका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीले गौरीशंकरमा एमालेको उम्मेदवारले विजय हासिल गरेकोमा खुशी व्यक्त गर्नुभयो । दोलखाको एकमात्र उपनिर्वाचन भएको गौरीशंकरमा एमालेका नेतृत्व तथा कार्यकर्ता सक्रिय भएका कारण पार्टीको जित भएको बताउनु भयो । बागमती प्रदेशको काठमाडौ महानगरपालिका–१६ र कीर्तिपुरमा नेतृत्वको कम्जोरीले नै पार्टीले पराजय भोग्नु परेको बताउनुभयो ।
दोलखाको पार्टी इन्चार्ज एवं पोलिटव्युरो सदस्य पार्वत गुरुङको नेतृत्वमा गौरीशंकरका नवनिर्वाचित उपाध्यक्षसहित जिल्लाका शीर्ष नेता र कार्यकर्ताहरु प्रधानमन्त्री निवास बालुवाटार पुगेको थियो । प्रधानमन्त्रीसँगको भेटमा जिल्ला इन्चार्ज गुरुङले जिल्लाको पार्टी गतिविधि र गौरीशंकर उपनिर्वाचनको बारेमा रिर्पोटिङ गर्नुभएको थियो ।

जिल्लागत र पालिका उपनिर्वाचनको रिर्पोटिङ पश्चात प्रधानमन्त्री ओलीले समग्रमा उपनिर्वाचन पार्टीको लागि फलदायक नभएको जिज्ञाशा राख्नुभयो । उपनिर्वाचनमा कुनै सिट गुमाएको फर्कायौं, कुनै थेग्न सकिएन र गौरीशंकरको पनि जटिल नै रहेको ओलीले बताउनुभयो ।
प्रधानमन्त्री ओलीले सबैलाई धन्यवाद व्यक्त गर्नुहुदै अबको दिनमा अझै सुधार गरी पार्टीलाई एकताबद्ध र मजबुद बनाउन सहभागी नेतृत्व एवं कार्यकर्तालाई सुझाब दिनुभयो । ओलीले नवनिर्वाचित उपाध्यक्ष शेर्पालाई बधाई दिदै आगामी दिनमा गाँउपालिकाको स्थानीय जनभावना अनुरुप काम गर्न समेत सल्लाह दिनुभयो ।
त्यसैगरी, नेकपा एमालेकी उम्मेदवार शेर्पाले २ हजार ८०५ मत प्राप्त गरी निकटतम् प्रतिद्धन्धी माओवादी केन्द्रकी उम्मेदवार निमलेकी शेर्पालालई २०५ मतले पराजित गरेकी थिइन् । त्यस्तै अर्का नेपाली कांग्रेसकी उम्मेदवार पासदिकी शेर्पा तामाङले १ हजार ७ सय २७ मत ल्याएकी थिइन् । गाँउपालिकाको उपचुनावमा सात राजनीतिक दलसहित १६ जनाले भाग लिएको थियो ।