
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । आयल निगम सञ्चालक समितिको बैठकले आइतबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले बढाएको हो ।
त्यसैगरी निगमले डिजेल र मट्टितेलमा भने प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर एक सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर एक सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर एक सय ६२ रुपैया तोकेको छ ।
यस्तै डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, दोस्रा वर्गका लागि प्रतिलिटर एक सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि एक सय ५१ रुपैयाँ निर्धारण गरिएको छ ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायल तोकेको छ ।