
दोलखा । नेपाली कांग्रेसले गौरीशंकर गाउँपालिकाको उपनिर्वाचनमा पासदिकी शेर्पा तामाङलाई उम्मेदवार बनाउने भएको छ । नेपाली कांग्रेस गौरीशंकर पालिका समितिको वैठकले चँखु स्थायी घर भएकी तामाङलाई उपाध्यक्ष पदमा उम्मेदवार बनाउने निर्णय गरेको हो ।
तामाङ गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष स्वर्गीय श्यामसुन्दर तामाङकी श्रीमती हुन् । कांग्रेस दोलखाका सभापति बर्मा लामाले गौरीशंकरको उपनिर्वाचनमा पासदिकीलाई उम्मेदवार बनाउने पालिका समितिवाट निर्णय भएको जानकारी दिनुभयो ।
गौरीशंकर गाउँपालिकाका उपाध्यक्ष श्यामसुन्दर तामाङको गत वर्षको असार महिनामा हृदयघातका कारण अल्पायुमै निधन भएको थियो । तामाङको निधन पछि कांग्रेसले उनकै श्रीमतीलाई उम्मेदवारकोरुपमा अघि सार्ने निर्णय गरेको हो । विगत १५ वर्षदेखि कांग्रेसको जिल्ला अधिवेशन प्रतिनिधि रहेकी पासदिकी हाल महिला संघको बागमती प्रदेश सदस्यको जिम्मेवारीमा छिन् ।
मंसिर १६ गते हुने उपनिर्वाचनकालागि नेकपा माओवादी केन्द्रले कार्तिक ८ गते नैं उम्मेदवारको टुँगो लगाईसकेको छ । माओवादी केन्द्रले मार्वुकी निमलेकी शेर्पालाई उपाध्यक्ष पदको उम्मेदवार बनाउने भएको छ । उम्मेदवारी घोषणासँगै माओवादी केन्द्र चुनावी प्रचारमा समेत लागिसकेको छ ।
त्यसैगरी, एमालेवाट उपाध्यक्ष पदकालागि कार्तिक १४ गते पालिका कमिटीको वैठक बसेर उम्मेदवारको नाम सिफारिस गर्ने स्रोतले जनाएको छ ।